काठमाडौं । बेलायत र जापानका अनुसन्धानकर्ताहरूले इन्टरनेट गतिमा विश्व कीर्तिमान कायम गरेका छन् । एस्टन युनिभर्सिटी र नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजीका वैज्ञानिकहरूले मानक अप्टिकल फाइबरमार्फत् ४ सय ३० टेराबाइट प्रतिसेकेन्डको गति हासिल गरेको लाइभ साइन्सले जनाएको छ ।
यो गति सामान्य घरेलु ब्रोडब्यान्डभन्दा झन्डै १६ लाख गुणा छिटो छ । अनुसन्धानकर्ताहरूले आफैँले सन् २०२४ मा कायम गरेको ४ सय २ टेराबाइट प्रतिसेकेन्डको अघिल्लो रेकर्ड तोडेका हुन् । डेनमार्कमा सम्पन्न ५१औँ युरोपियन कन्फरेन्स अन इप्टिकल कम्युनिकेशनमा यो उपलब्धि प्रस्तुत गरिएको हो ।
नयाँ प्रविधिले पहिलेभन्दा झन्डै २० प्रतिशत कम ब्यान्डविड्थ प्रयोग गर्दै यो अविश्वसनीय गति हासिल गरेको छ । यस खोजले भविष्यमा विश्वभरको इन्टरनेट पूर्वाधार र डेटा ट्रान्सफरमा क्रान्तिकारी परिवर्तन ल्याउने विज्ञहरूले बताएका छन् ।
डिजिटल युगमा डेटा खपत तीव्र गतिमा बढिरहेका बेला यस्तो प्रविधिले भविष्यको सूचना प्रविधिको माग पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । विशेषगरी क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) र उच्च गुणस्तरीय भिडियो स्ट्रिमिङजस्ता क्षेत्रमा यो प्रविधि महत्त्वपूर्ण हुने प्रविधिसम्बन्धी विश्व चर्चित सञ्चारमाध्यम टेकराडारको खबरमा उल्लेख छ ।


प्रतिक्रिया