आगामी निर्वाचनमा पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ : कांग्रेस

आगामी निर्वाचनमा पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्रता पारिएको पनि बताए । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकोबारे जानकारी गराउँदै उनले भने,’पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथिमकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ ।’

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए।

“जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,” उनले भने । उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण सङ्गठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ ।

निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए ।

कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए । सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ ।

कांग्रेसले सङ्गठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको प्रवक्ता चालिसेको भनाइ छ ।