तेलअभिभ। शान्ति सम्झौता र संघर्षविरामको प्रयास चलिरहँदा गाजा क्षेत्र पुनः अशान्त बनेको छ । इजरायली सेनाले गाजाको खान युनिसमा गरेको हवाई आक्रमणमा परी कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
गाजास्थित हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार शनिबार खान युनिसको दक्षिणी भेगमा रहेका विस्थापितहरूको शिविरलाई लक्षित गर्दै इजरायली हेलिकोप्टरले आक्रमण गरेको थियो । मारिनेमा ठूलो संख्यामा महिला र बालबालिका रहेको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो महिनाको सुरुमा लागू भएको दोस्रो चरणको संघर्षविराम यताकै यो सबैभन्दा ठूलो र घातक आक्रमण भएको प्यालेस्टिनी पक्षको दाबी छ ।
यता, इजरायली पक्षले भने शुक्रबार हमासले पहिले संघर्षविराम उल्लंघन गरेको आरोप लगाएको छ । इजरायली सेनाले हमासको सोही कदमको जवाफमा विभिन्न स्थानमा कारबाही गरेको जनाएको छ । हाल दुवै पक्षले एक-अर्कालाई सम्झौता तोडेको आरोप लगाउँदै आएका छन् ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि यो द्वन्द्व सुरु भएको थियो, जसमा १० नेपालीसहित करिब १,२०० जनाको ज्यान गएको थियो । हमास नियन्त्रित स्वास्थ्य विभागको तथ्यांकअनुसार त्यसयता इजरायली सैन्य अभियानमा ७१,६६० भन्दा बढी प्यालेस्टिनी मारिसकेका छन् । पछिल्लो पटक १० अक्टोबर २०२५ मा संघर्षविराम लागू भएयता मात्रै ५०९ प्यालेस्टिनी र चार इजरायली सैनिकको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया