काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ गते हुने निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही–३ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै यो चुनाव देश बचाउने कि देशमा विदेशी हस्तक्षेप बढाउने भन्नेबारे फैसला हुने चुनाव भएको बताए ।
उनले भने, ‘संविधान र लोकतन्त्र हामीले लडेर ल्याएको रक्षा गर्ने कि, त्यसमा प्रतिगमन हुन दिएर यो अपहरित हुन दिने र जनतालाई फेरि निरङ्कुश तन्त्र लादिने स्थिति ल्याउने रोक्ने भन्ने चुनाव हो । भ्रष्टाचारको विरुद्ध सुशासन कायम गर्ने कि, भ्रष्टाचारीहरूलाई नै निरन्तरता दिने भन्ने चुनाव हो ।’
देशलाई विकास र समृद्धिको दिशातिर लैजाने कि अभाव, बेरोजगारी कायमै राख्ने भन्ने चुनाव भएको बताए । उनले थपे, ‘हामी भ्रमबाट मुक्त भएर राष्ट्रिय स्वाधीनताको पक्षमा, लोकतन्त्र र संविधानको पक्षमा, सुशासन, विकास र समृद्धिको पक्षमा, मजदुर, किसान, दलित, जनजाति, महिला, मधेसी, पिछडिएको क्षेत्रको जनता, सीमान्तकृत समुदायको हकहितको पक्षमा उभिने पार्टीलाई जित्ने, जिताउने भन्ने हो ।’
राष्ट्रिय स्वाधीनताको पक्षधर, सुशासन र समृद्धि, संविधान र लोकतन्त्रको पक्षधर, मजदुर, किसान, गरिब, सुकुम्वासीको पक्षधर, मधेसी, जनजाति, दलितको पक्षधर आफ्नो पार्टी भएको जिकिर गरे ।


प्रतिक्रिया