युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता : प्रधानमन्त्री

युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता : प्रधानमन्त्री



काठमाडौं । राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले युवामा अनुशासन, नैतिकता र राष्ट्र सेवाको भावना विकास गर्नु राज्यको प्राथमिकता भएको स्पष्ट पारेकी छन् ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीलेले हजारौँ युवामध्येबाट छनोट भई तालिम पूरा गरेका क्याडेटहरूलाई बधाई दिँदै अनुशासित, चरित्रवान र राष्ट्रप्रति समर्पित युवा नै देशको आधार स्तम्भ भएको उल्लेख गरिन्।

“अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने आदर्शअनुसार राष्ट्रिय सेवा दलले युवालाई देश, संस्कृति, इतिहास र राष्ट्रिय पहिचानप्रति जिम्मेवार नागरिक बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार उक्त तालिमको अर्को प्रमुख उद्देश्य विपद्‌का बेला उद्धार, राहत र सेवाका कार्यमा परिचालन गर्न सकिने प्रशिक्षित स्वयंसेवक तयार गर्नु हो, जसमा कार्यक्रमले प्रभावकारी भूमिका खेलेको छ । तालिममार्फत क्यारेटहरूले आधारभूत सुरक्षा र सैनिक कला, समसामयिक ज्ञान, नेतृत्व क्षमता, सामूहिक भावना तथा राष्ट्रिय एकताको अभ्यास गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

समारोहमा प्रदर्शन गरिएको कवाजले क्याडेटहरूको अनुशासन, अभ्यास र परिश्रम झल्किएको भन्दै प्रधानमन्त्री कार्कीले युवामा देखिएको आत्मविश्वास र उत्साहले समाज र राष्ट्र निर्माणमा उनीहरूको नेतृत्वदायी भूमिका थप सशक्त हुने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्रीले दीक्षित क्याडेटहरूलाई अनुशासनलाई जीवनशैली बनाउने, राष्ट्र प्रेमलाई व्यवहारमा उतार्ने, विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता मजबुत गर्ने, विपद्‌को घडीमा अग्रपंक्तिमा उभिने, नैतिकता र इमानदारीतालाई सर्वोपरि राख्ने तथा शिक्षा, सीप र आत्मविकासमा निरन्तर लागिरहने आग्रह गरिन् साथै उनले समाज र राष्ट्रप्रति जिम्मेवारी बोधका साथ सकारात्मक परिवर्तनमा सक्रिय भूमिका खेल्न पनि आह्वान गरिन् ।