निर्वाचन सुरक्षाबारे गृहद्वारा ७७ जिल्‍लाका प्रजिअसँग भर्चुअल बैठक

निर्वाचन सुरक्षाबारे गृहद्वारा ७७ जिल्‍लाका प्रजिअसँग भर्चुअल बैठक



काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक सम्पन्न भएको छ ।

गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको पालना, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानीलगायतका विषयमा छलफल भएको हो ।

बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने र जिल्ला सुरक्षा समितिलाई दिइएका निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जाकारी दिए ।

गृह सचिव श्रेष्ठले बैठकमा छलफल भएका विषयका सम्बन्धमा आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको बैठक बसी प्रभावकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

बैठकमा प्रमुख जिल्ला अधिकारीसँगै मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख एवं मन्त्रालयका कर्मचारीको सहभागी थिए ।