काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
यस्तै बैठकले निर्माणाधीन संसद् भवन परिसरमा नवयुवा आन्दोलनका शहीदहरूको शालिक बनाउने निर्णय गरेको छ ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक ल्याएका थिए । १५ माघ २०८१ मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादका कारण धेरै अगाडि बढ्न सकेको थिएन ।
प्रस्तावित विधेयकको उदेश्य र कारणमा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मदित र सुरक्षित बनाउन स्पष्ट बनाउने भनिएको थियो ।
तत्कालीन सञ्चारमन्त्री गुरुङले विधेयकमै भनेका थिए, ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानून निर्माण गर्न आवश्यक भएकोले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको छु ।’


प्रतिक्रिया