पोखरा । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ बजे बङ्गलादेशको सामना गर्दै छ । त्यसअघि अपराह्न १२ बजे भारत र भुटान आमनेसामने हुने छन् ।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा हुने लिग चरणको अन्तिम खेलमा नेपाल दबाबमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन । बङ्गलादेश प्रतियोगिताको अङ्क तालिकामा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।
बङ्गलादेशले आफ्नो दुई खेल जित्दै फाइनलको नजिक पुगेको छ । नेपाल र भारतले समान एक/एक खेल जितेर तीन अङ्क बनाएका छन् । भुटानले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन र अङ्कविहीन छ ।
भुटानले लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ । भारतले भुटानलाई हराएको खण्डमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । यदी भारत भुटानसँग पराजित भएको खण्डमा भने घरेलु टोली नेपाललाई बङ्गलादेशसँगको खेलमा बराबरी गरे मात्र समेत फाइनल पुग्ने पर्याप्त हुनेछ ।
नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा भने भुटानलाई २–१ गोल अन्तरले हराएको थियो । बङ्गलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० ले र भारतलाई २–० ले हराएको थियो ।
प्रतियोगिताको अङ्क तालिकामा शीर्ष दुईमा रहने टोलीका बीच फाइनल खेल यही २४ माघमा सञ्चालन हुनेछ ।


प्रतिक्रिया