ऋण खोजेर भए पनि स्वास्थ्य बिमाकाे बजेट व्यवस्था गर्छाैं : प्रधानमन्त्री

ऋण खोजेर भए पनि स्वास्थ्य बिमाकाे बजेट व्यवस्था गर्छाैं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी हुन् ।

जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरूका लागि बजेट व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि उनको भनाइ थियो । उनले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताइन् ।

बिमा कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको बताउँदै उनले गरिब, अपांग, अशक्तलगायत कमजोर मानिसका लागि सो कार्यक्रम भएकाले उनीहरूको हित हुने गरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने भनाइ छ ।

“स्वास्थ्य बिमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ । मेडमले अत्यन्ते मेहनत गर्नु भएको हो । कानुन, नियम बनाएर ल्याएर एकद्धार प्रणालीबाट कानूनमा स्थापित गरौँ भनेको हो । दुःखी, गरिब असहाय सबैलाई सडकमा बसेका गरिब विपन्न वर्ग, अल्पसंख्यकलाई दिने हो, त्यो हिसाबबाट एकद्वारबाट जानुपर्छ,” उनले भनिन् ।

उनले अर्थमन्त्री बाहिर भएकाले फर्केपछि छलफल गरी यसलाई सुधार्ने उनको भनाइ छ ।