काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरू अहिलेका साझेदार भएकोले सँगै हिँड्ने बताएका छन् ।
बुधबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले भनेका छन्, ‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन । युवाहरू अहिलेका साझेदार हुन् । सँगै हिँड्ने हो । हामीहरू नयाँ सोचका साथ आएका छौं, कांग्रेस बदलिएको भनेको सोच, संकल्प र यसको शैली बदलिएको हो । नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्धविच्छेद भएको भनेको हो ? पटक्कै होइन । प्रजातन्त्र, सामाजिक न्याय, विविधता, समावेशी यो हाम्रो जरा हो । नयाँ कांग्रेसले यो जराहरूलाई अझ फैलाउने हो ।’
हिजोका राम्रा कुराहरूलाई फैलाउने पनि उनले बताए । ‘हामीले गरेका गल्तीहरूलाई सच्याउने हो। र अब पार्टी र देश यसरी चलाउँछौं भनेर मार्गचित्र प्रस्तुत गर्ने हो,’ उनले भने ।
बदलिएको नेपाली कांग्रेसले हिजोको कांग्रेसका कतिपय राम्रा कुराहरूलाई अघि बढाउने पनि उनले बताए ।
‘बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि राख्दैन । सिद्धान्तसँग सम्झौता गर्नुपरे बरू यसले छाड्छ । जे छाड्न परे त्यो छाड्छ । सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने यसले गर्दैन,’ सभापति थापाले भने, ‘बरू आनन्दले सरकार बाहिर बस्छ । पार्टी भनेको चुनाव मेसिनजस्तो चुनाव लड्ने मात्र होइन । हाम्रा संस्थापकहरूले पार्टी स्थापना गर्दा पार्टी भनेको सामाजिक आन्दोलन हो भन्ने सोच्नुभयो, हामी फेरि कांग्रेसलाई त्यही ट्र्याकमा ल्याउँछौं ।’
विगतमा अर्को चुनाव चिह्नमा भोट हाल्न लगाएको र पार्टी सञ्चालन गरेको तरिकामा आम नागरिकबाट गुनासा रहेको भन्दै त्यसलाई जोखिम उठाएर आफूहरूले सच्याएर आएको सभापति थापाको भनाइ छ ।
‘तपाईंहरूले पार्टीमा सुधार र परिवर्तनका लागि आह्वान गर्नुभयो, हामीले काम गर्यौं। तपाईंको विश्वासमा । तपाईंले भनेअनुसार जोखिम उठाएर परिवर्तन गर्यौं, अब हामी हाम्रो हक माग्छौं,’ उनले भने, ‘तपाईंको गुनासो सम्बोधन गरेर आइसकेपछि हामी हकका साथ हामी भन्छौं- तपाईंले यसपालि हामीलाई मत दिनुपर्छ । बदलिएको कांग्रेसले तपाईंले चाहेजस्तो देश बनाउने एउटा संकल्प गरेको छ ।’
पार्टी छाडेका तथा निस्क्रिय भएकाहरूलाई पार्टीमा फर्कन र सक्रिय हुन पनि सभापति थापाको आह्वान छ ।


प्रतिक्रिया