राष्ट्रिय फुटबल लिग : काँक्रेबिहारले पहिलाे अंक जाेड्याे, प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्लबलाई हरायाे

राष्ट्रिय फुटबल लिग : काँक्रेबिहारले पहिलाे अंक जाेड्याे, प्लानिङ ब्वाइजले फ्रेन्ड्स क्लबलाई हरायाे



काठमाडौं । राष्ट्रिय लिग फुटबलमा चित्लाङ एफसी र काँक्रेबिहार क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

ललितपुरमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा दुवै टोलीले २–२ गोल गरे । चित्लाङका चेतनकुमार थारू र अरोन थापाले गोल गरे । काँक्रेबिहारका भरत नागल र सन्दीप देउवाले गोल गरे ।

यो बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । चित्लाङ ६ खेलमा ६ अंकसहित तालिकाको ११औँ स्थानमा छ । लगातार ५ खेल हारेको काँक्रेबिहारले आज पहिलो अंक जोडेको हो । काँक्रेबिहार तालिकाको १६औँ स्थानमा छ ।

यस्तै आजै एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले फ्रेन्ड्स क्लबलाई २–० गोलले हराएको छ । प्लानिङ ब्वाइजका फागुराम थारूले २ गोल गरे ।

यो जीतसँगै प्लानिङ ब्वाइज ६ खेलमा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फ्रेन्ड्स क्लब ६ खेलमा ४ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।

राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।