टी–२० विश्वकप भाेलिदेखि शुरू हुँदै

टी–२० विश्वकप भाेलिदेखि शुरू हुँदै



१०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ भोलिदेखि भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेल श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ ।

उद्घाटन खेलमा नेपाली समयअनुसार बिहान सवा ११ बजे पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् ।

नेपालले पर्सि आइतवार मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ । यस्तै पाकिस्तानले समूह चरणमा भारतसँगको खेल्न बहिष्कार गर्ने बताएको छ ।

आउँदो मार्च ८ सम्म चल्ने प्रतियोगिताको फाइनलका लागि दुई वटा सम्भावित स्थल तय भएका छन्, भारतको अहमदाबाद र श्रीलङ्काको कोलम्बो । प्रतियोगिता आउँदो मार्च ८ सम्म चल्नेछ ।

प्रतियोगिताका खेलहरू भारतमा चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियम, नयाँदिल्लीको अरुण जेटली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम, कोलकाताको इडेन गार्डेन्स, अहमदाबादको नरेन्द्र मोदी स्टेडियम तथा श्रीलङ्कामा कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियम र सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदान र क्यान्डीमा रहेको पल्लेकेल इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछन् ।

प्रतियोगितामा २० वटा टोलीलाई चार समूहमा बाँडिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।

समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।