कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि



काठमाडौं । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ ।

एक जनाको भने अन्त्येष्टि अझै बाँकी रहेको छ ।

शव नेपाल ल्याउने सम्भावना नभएपछि खोटाङका एकै घरका दाजुभाइ सहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो ।

माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्सस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिए ।

पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन् ।

तीनवटै शव नेपाल ल्याउन ठूलो खर्च लाग्ने भएकाले मेघालयमै दाहसंस्कार गरिएको मृतकका आफन्तले बताएका छन् । शव नेपाल ल्याउन सरकारी तहबाट सहयोग नपाएको उनीहरूको गुनासो छ ।

कोइलाखानीभित्र भएको डाइनामाइट विस्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै तथा नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो ।

विस्फोटमा बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् ।