पूर्वमन्त्री गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित

पूर्वमन्त्री गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित



काठमाडौं । लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको उक्त मुद्दा पूर्वमन्त्री गुप्ताका कानुन व्यवसायीले स्थगित गराएका हुन् ।

विशेष अदालतले लिचिबारी जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दामा थुनामा पठाउने दिएको आदेश बदर गर्न माग गर्दै गुप्ताले निवेदन दिएका थिए । यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको ७३ नम्बरको निवेदन परे/नपरेको बुझ्न आदेश भएको थियो ।

पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपियाँ घुस लिएको अभियोग लगाएको थियो ।