टी–२० विश्वकप : पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

टी–२० विश्वकप : पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्याण्डले लगातार दोश्रो जीत निकालेका छन् ।

हिजो बेलुका कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर १ सय ९० रन बनायो । पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो ।

हिजो भएको अर्को खेलमा यूएईलाई १० विकेटले हराउँदै न्युजिल्यान्डले पनि लगातार दोश्रो जीत हासिल गरेको छ । न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।

त्यस्तै हिजोको पहिलो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।

टी–२० विश्वकपमा आज पनि तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका नेपाली समयअनुसार बिहान सवा ११ बजे अहमदावादमा खेल्दैछन् ।

दोश्रो खेलमा अस्ट्रेलिया र आयरल्यान्ड दिउँसो सवा ३ बजे कोलम्बोमा तथा आजको अन्तिम खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच बेलुका सवा ७ बजे वानखेडेमा खेल्दैछन् ।

नेपालले आफ्नो दोश्रो खेल भोलि इटालीसँग खेल्दैछ । खेल मुम्बईमा रहेको वानखेडे स्टेडियममा दिउँसो सवा ३ बजेपछि शुरू हुनेछ । नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।

यो प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ ।

हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ तारिख अर्थात् फागनु २४ गते हुनेछ ।