काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार कास्की जिल्ला अदालतमा तारेख बुझ्न उपस्थित हुने क्रममा उनले सञ्चारकर्मीसँग यस्तो विश्वास व्यक्त गरेका हुन् ।
सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए ।
“कानुनी प्रक्रियालाई, अदालती प्रक्रियालाई जहिले पनि सम्मान गर्नुपर्ने हुन्छ,” उनले भने, “हामीले न्याय पाउने भनेको पनि सम्मानित अदालतबाट नै हो ।”
उनले अगाडि भने, “जे जस्तो भएता पनि, अभियोजन जे जस्तो भए पनि अदालतप्रति नै हाम्रो विश्वास हो । मेरो विश्वास सधैँ छ । मेरो सम्मान सधैँ छ ।”
मुद्दा दायर गरिएका अदालतमा तारेख बुझ्न आफैँ उपस्थित हुनुपर्ने भएकाले त्यहीअनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।


प्रतिक्रिया