प्रतिनिधिसभा निर्वाचन : हालसम्म ५८ जिल्लाको मतपत्र छापियो

प्रतिनिधिसभा निर्वाचन : हालसम्म ५८ जिल्लाको मतपत्र छापियो



काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार बिहान ८ बजेसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १२४ वटा निर्वाचन क्षेत्रको लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने उल्लेख गर्दै उनले एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको बताए ।

उनका अनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न गरी रुजु (जाँच) समेत गरेर ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ ।

मुद्रण अधिकृत कोइरालाले छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको बताए । आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य सुरु गरिएको उनको भनाइ छ ।

उनले कर्णालीसँगै सुदूरपश्चिम, कोसी लगायतका प्रदेशमा चरणबद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना रहेको पनि बताए । निर्वाचन आयोगले आउँदो फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ ।

कोइरालाका अनुसार, बिहीबारसम्म कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य समेत सम्पन्न भइसकेको छ ।