काठमाडौं । एसीसी महिला एशिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाली टोली पहिलो खेलमा पराजित भएको छ ।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भयो ।
पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालकी विन्दु रावलले ४५ बलमा ३९ रन बनाइन् ।
पाकिस्तानकी अनुशा नासिरले ३ विकेट लिइन् ।यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । पाकिस्तानकी कप्तान हफ्सा खालिदले नटआउट ४० रन बनाइन् ।
नेपालकी कविता कुँवरले २ विकेट लिइन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि आइतवार यूएईसँग र अन्तिम खेलमा भारत ‘ए’ सँग खेल्नेछ ।थाइल्यान्डमा आजदेखि शुरू भएको प्रतियोगितामा आठ वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको छ ।
समूह चरणका खेलपछि शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल यही फेब्रुअरी २२ मा हुनेछ ।


प्रतिक्रिया