इतिहास र वर्तमान जोडेर मात्रै सुदृड भविष्य निर्माण हुन्छ : प्रचण्ड

इतिहास र वर्तमान जोडेर मात्रै सुदृड भविष्य निर्माण हुन्छ : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको सही सम्मानसँगै वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृड हुने बताएका छन् ।

आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे– २, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले १ फागुन केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे ।

उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मसाल यही दिन प्रज्वलित गरेको बताए ।

सम्बोधनको क्रममा उनले जनयुद्ध तथा विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपांग र बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरे ।

रुकुम पूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उनले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गरे ।

महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि संघर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको इतिहास उनले उल्लेख गरे ।