कसैले नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन

कसैले नयाँ पार्टीमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो : गगन



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यदि कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन् ।

सर्लाहीको धनकौलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो । किनकि कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’

उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेपछि खुसी लागेको बताए । उनले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए ।

उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन् । तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुसी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’

थापाले अहिले मधेसको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए ।

उनले भने, ‘अहिले सर्लाही लगायतका मधेसका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ । त्यसका लागि युवाहरूले एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ कांग्रेसको बारेमा । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ। मैले मेरो टिमसँग पनि यही भनेको छु ।’

उनले अब कांग्रेसले घोषणा पत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘त्यसमा सर्लाहीका समस्या कांग्रेसको संकल्पपत्रमा रहोस् भनेर म आज काठमाडौँ जाँदैछु । म फेरि आउनेछु ।’