अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै खाेले बैंक खाता

अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै खाेले बैंक खाता



काठमाडौं । चुनाव प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्नका लागि अहिलेसम्म ६ सय ७१ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् ।

कुल ३ हजार ४ सय ६ उम्मेदवारमध्ये ६ सय ७१ जनाले बैंक खाता खोलेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो सङ्ख्या कुल उम्मेदवारको झन्डै २० प्रतिशत हो ।

राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।

प्रवक्ता भट्टराईकाअनुसार आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उम्मेदवारहरूको बैंक खाता खोल्नका लागि सहजीकरण गर्न परिपत्र जारी गरेको छ ।

अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएका उनले जानकारी दिए ।

वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षाअनुसारको नै सहयोग गरेको प्रवक्ता भट्टराईकाे भनाइ छ ।