काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा राखेका छन् ।
मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिए ।
देशको भू–बनोट र समाजको प्रकृति सुहाउँदो व्यवस्थाले मात्र सकारात्मक परिणाम दिने उनको जिकिर छ ।
प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उनले प्रश्न उठाएका छन् ।
यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको उनले औंल्याए ।


प्रतिक्रिया