पूर्वराजाको सन्देश अनुसार समझदारीमा नगए देश दुर्घटनामा जान्छ : लिङ्देन

पूर्वराजाको सन्देश अनुसार समझदारीमा नगए देश दुर्घटनामा जान्छ : लिङ्देन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र चुनाव प्रक्रियाप्रति चिन्ता व्यक्त गरेका छन् ।

सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ०८४ मा हुनुपर्ने चुनावलाई ०८२ मा जबरजस्ती गराइएको भएपनि यसले समस्या समाधान नगर्ने जिकिर गरे ।

उनले भने, ‘यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ, देश दुर्घटनातर्फ जानेछ ।’

देशमा कसैले पनि आफूलाई निषेधित भएको महसुस नगर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको उनको भनाइ छ ।

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सुझावको रूपमा आएको भन्दै लिङ्देनले त्यसलाई सकारात्मक रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गरे ।

उनले देशलाई केन्द्रमा राख्दै नेपाल प्रथम, नेपाली प्रथम को भावनासहित नयाँ सहमति गर्न आह्वान गरे ।