काठमाडौं । नेकपा एमालेले ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २४ स्तम्भलाई प्राथमिकता दिँदै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
निर्वाचनपछि बन्ने आफ्नो सरकारको मन्त्रीपरिषद्को बैठकबाट तत्काल निर्णय गरी समयसीमा तोकेर ११ काम सम्पन्न गर्ने एमालेले उद्घोष गरेको छ ।
खरानी बनाइएको सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका संरचनाहरू उठाउने काम समयसीमा तोकेरै अगाडि बढाउने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
घोषणापत्रमार्फत जेन–जी विद्रोहलाई तिखो रुपमा प्रतिबाद गरेको एमालेले जेन–जी कुनै उमेर समूहबीचको लडाई र जनमत संग्रह नभएको तर्क गरेको छ ।
‘अहिले कोही पुस्तान्तरको चर्चा गर्दैछन् । उनीहरू यो निर्वाचन पाको पुस्ता र युवापुस्ता बीचको जनमत–संग्रह हो झैँ गर्दै छन्। देश न कुनै एक पुस्ताको निजी सम्पत्ति हो, न त रिस र आवेगको प्रयोगशाला । देश चलाउन अनुभव चाहिन्छ, उर्जा चाहिन्छ, भावी पुस्ताप्रति उत्तरदायित्व र युवा पुस्ताको सहभागिता, सक्रियता, भूमिका र साथ चाहिन्छ । हाम्रो राजनीति पुस्ता भिडाउने होइन। हाम्रो राजनीति पाको, प्रौढ र युवा पुस्ता सबै मिलेर र मिलाएर सबैलाई साथ लिएर हिड्ने हो । त्यसैले यो निर्वाचन पुस्तान्तरणको होइन, देश बनाउने र भत्काउने बीचको जनमत सङ्ग्रह हो । यो राष्ट्रघात र स्वाभिमान बीचको संघर्ष हो’ एमालेले भनेको छ ।


प्रतिक्रिया