कर्णालीको गहिराइ कसैले बुझेन : बालेन शााह

कर्णालीको गहिराइ कसैले बुझेन : बालेन शााह



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शााहले आजसम्म कुनै पनि नेताले कर्णालीको गहिराई बुझ्न नसकेको बताएका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पार्टीद्वारा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै शाहले भने, ‘देशको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो जिल्ला डोल्पा र विशाल गाउँपालिकाहरू भएको कर्णालीको गहिराइ आजसम्म कसैले सही रूपमा बुझ्न सकेन,’ साहले भने, ‘त्यो गहिराइ बुझ्ने पार्टी रास्वपा हो ।’

उनले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने तर कर्णालीका स्याउजस्ता कृषि उत्पादन देशभर सहजै नपुग्नु बिडम्बना भएको टिप्पणी गरे ।

कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसम्म पुर्‍याउने नीति लिइने उनले दाबी गरे ।सिंजा सभ्यताको संरक्षणमा जोड दिदै उनले भने, ‘सिंजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा त्यहाँको भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षण गरेर सभ्यता जोगाउनु भनेको इतिहास र पहिचान जोगाउनु हो ।’

उनले कर्णालीमा अझै पनि भोकमरी, बालमृत्युदर र मातृमृत्युदर उच्च रहेको विषय उठाए । कर्णालीमा गरिबीलाई भोग्ने जनता धेरै छन्, तर त्यसलाई सही रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको उनको दाबी थियो ।