विकासका काम एक्लैले सम्भव हुँदैन, सक्षम नेतृत्व चाहिन्छ : शेखर कोइराला

विकासका काम एक्लैले सम्भव हुँदैन, सक्षम नेतृत्व चाहिन्छ : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन् ।

विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५ करोड रुपैयाँ बजेट आफूले नै पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताए ।

कोइरालाले भने, ‘मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएर बनाएको हुँ ।’

उनले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा आफू निरन्तर लागिपरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

‘मैले अध्ययन गरेका बेला जस्तो मोरङ कलेज अहिले छैन। समयअनुसार परिवर्तन र विकास आवश्यक छ’ उनले भने, ‘यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पूर्वाधार, प्रयोगशाला र स्रोत–साधन विस्तार गर्नुपर्ने अवस्था छ।’

उम्मेदवार कोइरालाले यस पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्‍याए । वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने बताए ।