काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् ।
भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले आउँदो अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको भन्दै निर्माणको तीव्रता नदेखिएको उल्लेख गरे ।
यद्यपि पछिल्लो समय केही प्रगति भएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले केही दिनअघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिए ।
उनकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन हुने कक्षहरू तयार हुनुपर्नेछ ।
चुनावपछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाव दिइएको दाहालको भनाइ छ ।


प्रतिक्रिया