देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले

देश जलाउनेले देश बनाउने पार्टीको झण्डा जलाए : एमाले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले सूर्य चुनाव चिह्न अंकित आफ्नो झण्डा जलाएको घटनाको नेकपा एमालेले भर्त्सना गरेको छ ।

एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डा जनाएको प्रति निन्दा गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको थियो । देश जलाउनेहरूबाटै एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको एमालेले टिप्पणी गरेको छ ।

एमाले अनुशासित पार्टी भएकाले यो घटनाबाट उत्तेजित नभएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि हाम्रो संयमता, धैर्य हामी कमजोर भएर होइन । एमाले कानुनी शासनको सम्मान गर्ने भएकाले झण्डा जलाउने रास्वपाका कार्यकर्ताहरूलाई तत्काल पहिचान गरी कानुनी दायरामा लिई कारवाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छ ।’