सरकारले निष्पक्ष निर्वाचन हुने सुनिश्चित गर्नुपर्छ : कांग्रेस

सरकारले निष्पक्ष निर्वाचन हुने सुनिश्चित गर्नुपर्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको बताए । त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन उनको आग्रह छ ।

“निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रूपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो,” चालिसेले भने, “हामीले बारम्बार भनेका छौँ कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन ।”

कांग्रेसले जनताको मताधिकार गर्ने अधिकार दायाँबायाँ गर्ने छुट सरकारलाई नभएको जनाएको छ । “नेपाली कांग्रेसले अहिलेसम्म शंका गरिसकेको छैन । तर, निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ,” चालिसेले भने ।

नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका धेरै नेता, कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिरहेको उनको भनाइ छ ।