ओली र बालेनलाई विश्वप्रकाशकाे प्रश्न- गगनलाई दमक कहिले पठाऊँ ?

ओली र बालेनलाई विश्वप्रकाशकाे प्रश्न- गगनलाई दमक कहिले पठाऊँ ?



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको प्रस्तावित एमालेका अध्यक्ष ओली र रास्वपा वरिष्ठ बालेन शाहसँग बहसका लागि पार्टी सभापति गगन थापालाई दमकमै पठाउन तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन झापाले धुलाबारीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीको प्रस्तावित दुई नेता झापामै भएकाले पार्टी सभापतिलाई पनि पठाउन कांग्रेस तयार रहेको भन्दै गगनलाई दमक कहिले पठाऊँ ? भनेर प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्रीमा प्रस्तावित उहाँहरू दुईजना नेतालाई सल्लाह गर्न म आग्रह गर्छु । तपाईँहरू त दमकमै हुनुहुन्छ । नेपाली कांग्रेसको उम्मेदवार गगन थापालाई कहिले पठाऊँ दमक ? म उहाँहरूको समय जतिखेर मिल्छ, त्यही समयमा म पार्टीको परिचालन समितिको संयोजक हुँ, मिडियाका साथीहरूले लेख्दिनुस्, विश्वप्रकाशले एलान गरेर भन्यो- प्रधानमन्त्री पदका दुईटा उम्मेदवारले जुन दिन, जुन समय भन्नुहुन्छ, त्यही समयमा सारा झापाली मिडिया राखेर, राष्ट्रिय मिडिया राखेर लाइभ गरेर छलफल गरौँ ।’

उनले निर्वाचनलाई उत्तेजनाको, आवेगको, घृणाको मैदान बनाउन नहुने बताए । उनले मतदाताले पनि मत व्यक्त गर्दै गर्दा झोकमा, रिसमा व्यक्त गर्न नहुने उनको भनाइ छ ।