निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण



बेनी । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन कर्मचारीलाई तालिम दिन थालिएको छ । जिल्लामा रहेका ८२ मतदानस्थलमा १२० स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले आजदेखि बेनीमा निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गराउन निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण दिन थालेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।

जनतालाई भयरहित वातावरणमा आफूले चाहेको उम्मेदवारलाई मत हाल्ने वातावरण बनाउन निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए ।

म्याग्दीमा जिल्ला कारागार र कर्मचारीका लागि अस्थायी मतदात केन्द्रसहित १२२ मतदान केन्द्र निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निजामती कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतमा खटाएको छ भने सहायक कर्मचारीको विवरण सङ्कलन गरेर छनोटको तयारी गरिएको छ ।

प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा छन् । आगामी निर्वाचनका लागि ८६ हजार ३९७ मतदाता कायम रहेका छन् । हरेक मतदान केन्द्रमा एक÷एक मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी खटिने छन् भने तीन जनाको दरले सहायक कर्मचारी खटिनेछन् । हरेक मतदान केन्द्रमा ५०० सम्म मतदाता भएमा दुई र ५०० बढी मतदाता भएको केन्द्रमा तीन स्वयंसेवक मतदान अधिकृतले खटाउनेछन् ।

जिल्लामा निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने काम सकिएको छ । निर्वाचन आयोगले पठाएको पतपत्र, स्वस्तिक छाप, छेकबारा, सुरक्षण सिललगायतका सामग्रीलाई मतदान केन्द्रअनुसार छुट्याएर ब्याकिङ गरिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार आयोगबाट प्राप्त निर्वाचन सामग्रीको रुजु गरेर मतदान केन्द्रमा रहेका मतदाताको सङ्ख्याका आधारमा सामग्री व्यवस्थापन गरेर पठाउन तयारी अवस्थामा राखिएको छ ।