पर्सा । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा गएराति र आज बिहान भएको घटनापछि उत्पन्न हुन सक्ने सामाजिक तथा साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै बैठकले शान्ति, सद्भाव र संयमता अपनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनाबाट प्रभावित पक्षलाई उपचार तथा राहत उपलब्ध गराउन प्रशासनसँग समन्वय गर्ने, पीडित परिवारलाई कानूनी प्रक्रियामार्फत न्याय दिलाउन सहयोग गर्ने तथा घटनालाई सामाजिक सञ्जालमा उत्तेजक ढङ्गले प्रचारप्रसार नगर्न सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने तथा साइबर कानून विपरीत गतिविधि गर्ने व्यक्तिमाथि कानूनी कारबाही अघि बढाउने निर्णय गरेको छ ।
गाडी पार्किङको विषयमा शुरू भएको विवाद दुई पक्षबीच झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेर सेना परिचालन गर्नुपरेको छ ।
यसअघि रौतहटमा पनि एउटा विवाह समारोहको विषयमा विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । तर रौतहट र वीरगञ्जको तनावबीच सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।
मधेशमा एकपछि अर्को ठाउँमा समस्या बढेपछि प्रहरीको केन्द्रीय कार्यालयले उच्च सावधानीसहित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको बताएको छ ।


प्रतिक्रिया