मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी



काठमाडौं । मतदान सकिएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । आयाग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताए ।

मतपरिणामको समयसीमाबारे स्पष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले समानुपातिकको एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टा भित्र घोषणा गर्ने गरी आयोगले तयारी गरेको बताए ।

उनले उपत्यकाबाहिर मतपत्र पठाउने काम सकिएको तथा काठमाडौं, ललितपुर र भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पुर्‍याइसक्ने गरी काम भएको जानकारी दिए । मतदान अधिकृतहरूको तालिम मंगलबार साँझसम्म सम्पन्न हुने र त्यसपछि आवश्यक सामान बुझेर सम्बन्धित मतदान केन्द्रमा खटिने उनको भनाइ छ ।

निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न गरी आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको बताइएको छ । मतपत्र छपाइदेखि ढुवानीसम्मको व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिने क्रम पनि सुरु भइसकेको आयोगले जानकारी दिएको छ ।

हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोग निर्णयमा पुगिनसकेको पनि उनले बताए । भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै आयोग मौसमको प्रतिकूलता अध्ययन गरी मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित हुन नपर्ने गरी तत्काल निर्णय गर्ने गरी तयारी अवस्थामा रहेको स्पष्ट पारे ।

उनले भने, “यदि त्यस्तो अवस्था आयो भने हामी जहाँ मतदाताहरू हुनुहुन्छ त्यहीँ गएर मत संकलन गर्ने गरी आयोगले निर्णय गर्छ ।”

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रहसमेत गरेका छन् । साथै, निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिए ।

उनले भने, “कसैले कसैलाई निषेधको राजनीति गर्न पाइँदैन । स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ । स्वच्छ प्रतिस्पर्धाबाट मात्रै असल नेतृत्व चयन हुन्छ ।”