काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने झापा ५ दमकमा भएको चुनावी सभामा पुग्दा सो क्षेत्रका उम्मेदवार तथा वरिष्ठ नेता बालेन साह भने अनुपस्थित भएका छन् ।
विभिन्न जिल्लामा रवि-बालेन सँगै सभा र प्रचारमा पुगिरहँदा आफ्नै क्षेत्रमा सभापति आउँदा बालेन अनुपस्थित हुनुले आन्तरिकरूपमै टिप्पणी भएको छ । रास्वपाले वरिष्ठ नेताको क्षेत्रमा सभापतिको सम्बोधन भनेर कार्यक्रम आयोजना गरेको थियो । बालेन भने हिजै इटहरी पुगेका थिए ।
बालेन इटहरी गएको विषयमा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिलाई जानकारी थिएन । बिहानसम्म दुवै नेताले सम्बोधन गर्ने बताइँदै आएको थियो ।
रास्वपा झापा-५ का एक नेताले बालेनको चुनावी कार्यक्रमका बारेमा पार्टीमा पूर्व छलफल नहुने बताए । उनले वरिष्ठ सभापतिको चुनावी कार्यक्रम उनकै सचिवालयले बनाउने जनाए ।
झापा-५ मा चुनावी प्रचारका राखिएका पोस्टर र प्रचार सामाग्रीमा पार्टीका सभापतिको तस्बिर पनि प्रयोग नभएको पाइएको छ । प्रचार सामाग्रीमा उम्मेदवार तथा पार्टीका वरिष्ठ नेताको मात्रै फोटो र तस्बिरहरू प्रयोग भएको रास्वपाको स्थानीय नेताहरूले बताए ।


प्रतिक्रिया