९ राजनीतिक दल र १ हजार २ सय १३ जना उम्मेदवारले खोले बैंक खाता

९ राजनीतिक दल र १ हजार २ सय १३ जना उम्मेदवारले खोले बैंक खाता



काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४ सय ६ प्रत्यक्ष उम्मेदवारमध्ये अहिलेसम्म १ हजार २ सय १३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । चुनावमा भाग लिएका ६८ दलमध्ये ९ दलले मात्र खाता खोलेका छन् ।

आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।

चुनावमा राजनीतिक दल र उम्मेदवारहरुले लिने आर्थिक सहायताको पारदर्शिता र निर्वाचन कानुनले तोकेको खर्चको सीमाको पालना तथा प्रभावकारी निगरानीका लागि बैङ्क खाता खोल्ने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समेत कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिई गर्ने आम्दानी खर्च कारोबार त्यही खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यही व्यवस्थाअनुसार दल र उम्मेदवारले खाता खोलेका हुन् ।