चुनाव सार्ने भए ४ दिन अघि सारौं : रवि लामिछाने

चुनाव सार्ने भए ४ दिन अघि सारौं : रवि लामिछाने



काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव गरेका छन् । इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने भए ४ दिन अगाडि ल्याउने प्रस्ताव राखे ।

चुनाव सारौँ भन्नेहरूलाई रविले भने, ‘सार्ने भए ४ दिन यता सारौँ हामीलाई ठिक छ । ४ दिन पनि अलि लामो भयो। यो अब सारौँ भन्ने कुरा नगरौँ । चुनाव गरौँ, चुनावले दिएको परिणाम स्वीकार गरौँ। देश अगाडि बढ्छ । लोकतन्त्रको ठेक्का कसैले नलिऊँ, लोकतन्त्र जोगाउने यत्तिका जनता छन्। यत्तिका सचेत जनताले देशमा लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि ।’

उनले देशमा विधिको शासनमा अघि बढ्नुपर्ने बताए । उनले भने, ‘रास्वपाले आफ्नो अवधारणामा भनेको छ, थिति बसाल्नका लागि हो । हामी थिति बसाल्ने काम गर्नका लागि आएका हौँ । त्यसैले मजदुर, विद्यार्थी, शिक्षक कसैले पनि चिन्ता गर्न पर्दैन । कर्मचारी साथीहरूमा पनि कता–कता यो के गर्ने होरु सङ्गठन, ट्रेड युनियन खारेज हुने भयो होला भनेर यो हुँदैन भनेर विरोध गर्ने कुराहरू हामीले सुनेका छौँ । कसैले विरोध गर्नै पर्दैन ।’

उनले ४६ साल पछिका सबै काण्डको छानबिन रास्वपाले गर्ने बताए । उनले रास्वपा सरकार आएपछि सुकुम्बासी बस्तीमा डोजर चल्छ भनेर भ्रम चलाइएको बताए ।