काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल चीन र भारतजस्ता दुई ठूला छिमेकी राष्ट्रको बीचमा रहेकाले जिम्मेवार र सन्तुलित कूटनीति अपरिहार्य भएको बताएका छन् ।
बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चर्को भाषण र उत्तेजक अभिव्यक्तिले मात्रै राष्ट्रिय हित सुरक्षित नहुने स्पष्ट पारे ।
भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै देशभित्र र बाहिर सबै पक्षसँग समन्वय गरेर अघि बढ्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उनको दाबी थियो । थापाले लोकतन्त्र कुनै एक व्यक्तिको चमत्कारमा चल्ने प्रणाली नभएको उल्लेख गर्दै प्रधानमन्त्री बनेर मात्रै सबै समस्या समाधान हुने सोच गलत भएको बताए ।
‘डेमोक्रेसी भनेको व्यक्तिले चमत्कार गर्ने पद्धति होइन,’ उनले भने । आउँदो पाँच वर्ष खेर जान नदिन ‘टिम नेपाल’ को अवधारणाअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै उनले कांग्रेस एक्लैले देश चलाउन नसक्ने बताए । प्रतिज्ञापत्रमा उल्लेखित सुधार कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक पर्ने र त्यसका लागि सबै दलको सहकार्य अनिवार्य हुने उनको भनाइ छ ।
‘म मात्रै ठीक, अरु सबै गलत भन्ने मनोवृत्तिले देशलाई फेरि द्वन्द्व र दुर्घटनातर्फ लैजान्छ,’ थापाले भने । उनले उत्तेजनाको राजनीतिमा नबहकिन सबैलाई आग्रह गरे ।
उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।
‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस्,’ सभापति थापाले भने, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’
सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे ।
‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’


प्रतिक्रिया