कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै देश चल्नुपर्‍यो : बालेन

कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै देश चल्नुपर्‍यो : बालेन

समर्थकले चर्को हुटिङ गरेपछि केहीबेर भाषण नै राेकेर मुस्कुराँदै भिडलाई भने– ‘आइ लभ यू छ क्या ।’



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ‘देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै’ चल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका नेता एवं वाइवाइ चाउचाउ उत्पादक कम्पनीका सञ्चालक विनोद चौधरीलाई कटाक्ष गर्दै उनले संसारभर पुग्ने वाइवाइ जस्तै हुनुपर्ने बताए ।

‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन छ कारखाना छ, खानी छ,’ शुक्रबार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो देश नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री, जस्तै देशभर जानुपर्‍यो । रास्वपा त्यसरी उद्योग कलकारखाना चलाउने पार्टी बन्न चाहन्छ ।’

उनले बिजुलीसमेत भण्डारण गर्नुपर्ने बताए । मल कारखाना, डेटा सेन्टरलगायत बनाएर बिजुली उपयोग गर्न सकिने भन्दै उनले सस्तोमा बेच्न नहुने बताए ।

बालेनले जहाजबाट चितवनका छतमा निलो रङको जस्ता राखेको देखेको भन्दै चितवनवासीलाई सोधे– छतमा निलो जस्ता राखेर कसलाई जिस्काएको ?

‘अघि प्लेनमा आउँदै चितवनमा छतमाथि जस्ता राख्ने चलन रहेछ, सबका सब निलो, जिस्काउन राखेको जस्तो । कसलाई जिस्काउन राख्नुभएको त्यस्तो ?,’ उनले प्रश्न गर्दै भने ।

उनले आफ्नो पार्टी रास्वपाले जस्तै त्यो छानाले पनि छतलाई मक्किनबाट रोक्ने काम गर्ने गरेको बताए । ‘त्यो निलो छानाले छतलाई मक्किनबाट जोगाउँदो रहेछ । राष्ट्रिय स्वतन्त्र पार्टीजस्तो,’ बालेनले भनेका छन् ।

बोल्ने क्रममा समर्थकले उनको नाम लिएर चर्को हुटिङ गरे । केहीबेर बालेनको भाषण नै अवरुद्ध भयो ।

मुस्कुराँदै भिडलाई उनले भने– ‘आइ लभ यू छ क्या ।’ हुटिङ झनै चर्कियो बालेनले टाउको कन्याए । अनि मुस्कुराउँदै भने– ‘बोल्नै दिँदैनन् यार ।’

समर्थक रोकिएनन् । बालेनले फेरि भने– ‘म अब के गरौं ? गीत बजाउँ ? नाचु ?’ केहीबेरपछि हुटिङ अलिक मत्थर भयो र बालेनले आफ्नो भाषणलाई अघि बढाए ।