पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा लिन नहुने बताए ।
“हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ– हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन्,” शर्माले भने ।
निर्वाचनपछि सबै दलहरूले सत्तापक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने शर्माको भनाइ छ । मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहसको विषय बनाउनुपर्नेमा उनले जोड दिए ।
“आज हामी जो प्रतिस्पर्धामा छौँ । यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसैले दलहरूको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ,” शर्माले भने, “निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञ हो ।”


प्रतिक्रिया