मतदानकै दिन साँझदेखि मतगणना सुरु हुने

मतदानकै दिन साँझदेखि मतगणना सुरु हुने



काठमाडौं । निर्वाचन आयोगले यसपटक मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना सुरु गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

“कतिपय ठाउँमा आउन आउन सक्ने अप्ठ्याराहरूलाई त हामीले अहिले नै आँकलन गर्न सक्दैनौँ । तर, पनि साधारणतया यति समयमा हामी सक्छौँ भन्ने हिसाबले आयोगले गुड इन्टेन्सनबाट छिटो नतिजा सार्वजनिक गर्न सकियो भने त्यसले मतदाताको जुन प्रतीक्षा गर्ने व्यग्रतालाई त्यो समयलाई छोट्याउन सक्छ भन्ने हिसाबमा यो कुरा प्रोजेक्सन गरिएको हो,” उनले भने ।

निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने तयारी तीव्र पारेको उनले बताए । विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका संकलन गर्ने समय उल्लेख्य रूपमा घटाइने उनको भनाइ छ ।

“निर्वाचन आयोगले योपटक विगतका अनुभवहरूलाई पनि लिएर मतदानपश्चात मतपेटिका संकलन गर्ने टाइम घटाउन थालेको छ,” उनले भने, “हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौं । त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ ।”

आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणनास्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले बताए ।

मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईको भनाइ छ ।

स्थानीयस्तरमा आउन सक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अधिकतम रूपमा काम गर्ने लक्ष्य लिएको उनले बताए । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको उनको भनाइ छ ।