यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासकाे आग्रह

यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासकाे आग्रह



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति निकालेर मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिका कारण नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह बताएको छ ।

दुतावासले यूएई सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न भनेको छ ।

दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त ठाउँबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।

दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्नका लागि फोन नम्बर, इमेल, ठेगाना पनि सार्वजनिक गरेको छ ।

यसैबीच अमेरिका र इजराइलले आक्रमण गरेपछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जवाफी आक्रमण गरेको छ ।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनका अनुसार इरानले कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल–सालेम हवाई अड्डा, यूएईको अल धाफ्रा एयर बेस, बहराइनस्थित नौसेना अड्डालाई निशाना बनाएको छ ।

यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको सीएनएनले जनाएको छ ।

कतारले तीन पटकसम्म इरानबाट आएको मिसाइल सफलतापूर्वक नष्ट गरेको भनेको छ ।

यूएईमा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरे पनि मिसाइलको टुक्रा एउटा घरमा खसेको र एक जनाको ज्यान गएको कतारी सञ्चारमाध्ययम अल जजिराले जनाएको छ ।