काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण वा विध्वंसको बाटो रोज्ने कित्ता स्पष्ट पार्ने बेला आएको बताएका छन् ।
मतदातामाझ भिडिओ सन्देशमार्फत् ओलीले भने, ‘अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन । इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले देख्दैन तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैनथ्यो ? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् । मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् ।’
एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन विध्वंस मच्चाएर प्रतिनिधिसभा विघटन गराइएको भन्दै उनले थपे, ‘आज तपाईंले ठण्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ- यो देश हामीले बचाउने कि नबचाउने ? यो सोध्न मिल्ने हुने प्रश्न होइन तर सोध्नैपर्ने भएको छ ।’
थुप्रै भ्रम फैलाइएको भन्दै उनले आफूप्रतिका गुनासा र प्रश्न भएको र केही कमजोरी पनि रहेको स्वीकारेका छन् । ओलीले भने, ‘तर तपाईंलाई यो पनि थाहा छ- मैले यस देशको अखण्डताको सवालमा, यस देशको स्वाभिमानको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।’
ओलीले आफू बाँच्ने दिन बाँचिसकेका दिनभन्दा बढी भएकाहरूका लागि लडिरहेको बताएका छन् ।


प्रतिक्रिया