काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब परीक्षणको रुपमा देशको महत्वपूर्ण समय खेर फाल्न नहुने बताएका छन् । आइतबार काठमाडौं ५ र ६ को चुनावीसभालाई सम्बोधन गर्दै विश्वप्रकाशले कांग्रेस पुरानो पार्टी भए पनि नयाँ भएर आएको बताएका हुन् ।
‘कांग्रेस पुरानो कम्पनी हो । विशेषबाट नीति र नेतृत्व बदलेर आएकोले कांग्रेस नयाँ हो । नयाँको अलमलमा मतदाता अलमलिने होइन । २०६४ मा माओवादी ठूलो दल भयो । तर मुलुकले संविधान पाएन । देशले गल्ती गर्यो । माओवादीको आज नाम छैन,’ शर्माले भने, ‘ २०७० सालमा कांग्रेसलाई कमाण्ड सुम्पनुभयो भयो भने हामी कमाण्ड गर्छौ भन्यौ । दुई वर्षमा मुलुकले संविधान पायो । यसैले हामी देशलाई बदल्ने सामथ्र्य राख्ने भएकोले हामीलाई मत दिन अपिल गर्छौ । सोचेर बुझेर देशको फैसला गरिदिन आग्रह गर्छु ।’
आफूहरू कसैलाई बाँधेर नभइ अप्ठ्यारा फुकाएर काम गर्ने पक्षमा रहेको उनको भनाइ छ ।
‘काठमाडौं बदल्न नसक्नेले देश परिवर्तन गरिदिन्छन् भनेर पत्याइदिनुपर्ने ? अमेरिका, बेलयात कसैलाई रुखमा बाँधेर बनेको होइन । हामी कानुन बदल्ने, ठेक्का प्रक्रियादेखि खरिद ऐनमा सुधार गरेर अगाडि बढ्न चाहन्छौं,’ विश्वप्रकाशले भने, ‘कसैलाई बाँधेर केही हुँदैन । धनी राष्ट्र अमेरिका र बेलायत राति पुल बनाउँछन् । नेपाल रातभर सुत्छ । सुर्यास्त नेपाली मस्त भन्ने भाष्य नै छ । तर हामी यसलाई तोड्न चाहन्छौं । २४ घण्टा देश बनाउने संकल्प गर्छौ ।’ कांग्रेस बदलिएर आएको भन्दै शर्माले सभापति गगन थापाको नेतृत्वमा मुलुकले समृद्धिको मार्ग तय गर्ने उनको भनाइ छ ।


प्रतिक्रिया