मध्यपूर्वमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

मध्यपूर्वमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय



काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । परराष्ट्रले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

“मध्यपूर्वमा ठूलो संख्यामा नेपालीहरू हुनुहुन्छ । यस्तो बेलामा विभिन्न खालका सूचनाहरू भेरिफाइ नगरी आउँछन् । पुष्टि र सत्यता पुष्टि गरेर सूचना प्रवाह गरिदिनुहोला,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “हालसम्म प्राप्त जानकारीअनुसार सबै नेपाली सुरक्षित हुनुहुन्छ । सकुशल हुनुहुन्छ ।”

अमेरिका/इजरायल र इरानबीचको युद्ध मध्यपूर्वमा विस्तार हुन लागेपछि परराष्ट्रले पत्रकार सम्मेलन गरी त्यहाँ रहेका नेपाली हालसम्म सुरक्षित रहेको बताएको हो ।

अमेरिका र इजरायलले शनिबार बिहान अचानक इरानमाथि आक्रमण सुरु गरेका थिए । त्यसपछि इरानले प्रत्याक्रमण सुरु गरेको थियो । इरानले इजरायलमाथि मात्र होइन कुवेत, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान, इराक, जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्यवेशमा आक्रमण गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेका छन् । इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, यूएईमा लगभग सात लाख, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेको परराष्ट्रले जनाएको छ ।