काठमाडौं । सरकारले मध्यपूर्वका रहेका नेपालीलाई नआत्तिन र सम्बन्धित देशका सरकारी सूचनाहरुको पालना गर्न आग्रह गरेको छ ।
अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा तनाव बढेको छ ।
अमेरिकी सैन्य अखडाहरुमा इरानले गरेको हमलामा यूएईमा एक नेपालीको ज्यान गएको छ । यसले नेपालीहरुमा त्रास थप बढेको छ ।
परराष्ट्र मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आह्वान गरेको छ ।
मन्त्रालयले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्न र परराष्ट्र मन्त्रालय वा सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुमा नियमित सम्पर्कमा रहन भनेको छ ।
विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले पनि स्थानीय कानून पालना गर्न र सुरक्षा निर्देशन मान्न आग्रह गरेका छन् । द्वन्द्व प्रभावित देशमा रहेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने सरकारले निर्णय गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा करिब सात लाख नेपाली रहेको परराष्ट्रको तथ्याङ्क छ । साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५ तथा कतारमा तीन लाख ५७ हजार ९ सय १३ जना नेपाली कार्यरत छन् । कुवेतमा १ लाख ७५ हजार नेपाली रहेकामा ७५ प्रतिशत महिला घरेलु कामदारका रूपमा कार्यरत छन् जोर्डनमा रहेका तीन हजार नेपाली घरेलु कामदार र गार्मेन्ट उद्योगमा कार्यरत छन् ।
बहराइनमा २८ हजार तथा ओमानमा २५ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । लेबनानमा १५ सय र इराकमा ३० हजार नेपाली रहेका छन् । साइप्रसको घरेलु कामदार र सेवा क्षेत्रमा १७ हजार नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ । इजिप्टमा मेडिकल अध्ययन र रोजगारीका लागि ५ सय विद्यार्थी रहेका छन् ।
इजिप्टमा घरेलु कामदार र औद्योगिक मजदुरका रूपमा पनि केही कार्यरत छन् । १३ देशमा रहेका नेपालीहरूलाई मध्यपूर्वका १० नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्न भनिएको छ । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै कूटनीतिक तथा प्रशासनिक पहल शुरू गरेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए ।
मन्त्रालयले विभिन्न देशहरूले जारी गरिरहेका आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ ।मध्यपूर्वका देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका मन्त्रालयको विवरण छ ।
मन्त्रालयका अनुसार अहिले भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् । यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ । कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाइक्षेत्र बन्द गरेका हुन् ।


प्रतिक्रिया