शीर्ष नेता : रवि–बालेन र प्रचण्डको अग्रता

शीर्ष नेता : रवि–बालेन र प्रचण्डको अग्रता



काठमाडौं । प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।

देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १ हजार ९३ मतले पछि पारेका छन् । १ हजार ४ सय ७८ मत गणना भइरहँदा बालेनले १ हजार ९३ मत पाएका छ भने ओलीले ३८५ मत मात्रै प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले १ हजार ४ सय १५ मतसहित अग्रता लिएका छन् । उनको पछाडि नेकपा एमालेका लिलमणि गौतमले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ३२६५ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाएका छन् ।

अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतलाई १ हजार ४ सय ८७ मतले पछाडि पार्दै रास्वपाका राजीव खत्री ३ हजार ६ मतले अघि छन् । नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा भने मतगणना शुरु हुन बाँकी छ ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको रौतहट क्षेत्र नम्बर १ र झलनाथ खनालको इलाम क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी छ ।