काठमाडौं । काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डिपि अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४ सय ६० मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले ४ हजार ५ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले १ हजार ४ सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले १ हजार ३ सय २८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी काठमाडौं क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य चुनावको अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार ७ सय ३७ मत प्राप्त गरी विजयी भएका छन् ।
नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले ९ हजार १ सय ५९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा नेकपा(एमाले)का ईश्वर पोखरेलले ४ हजार ७ सय १ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले १ हजार ७ सय २९, उज्यालो नेपाल पार्टीका श्रीराम गुरुङले १ हजार १ सय, श्रम संस्कृति पार्टीका अमित थापाले ७ सय ११ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा थिए ।


प्रतिक्रिया