काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ को मतपरिणाम घोषणा नगर्न आदेश दिएको छ । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल परिणाम घोषणा नगर्न भनेको हो ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । साथै सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न अदालतले आगामी २९ गते पेसी तोकेको छ । सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबीच छलफल भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय हुनेछ ।
कालोसूचीमा परेको हुँदा योग्यता नपुग्ने भन्दै आयोगले साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवार साह सर्वोच्च अदालत गएको थाहा पाएपछि आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन ।
साहले २० हजारभन्दा धेरै मत पाएका बताइएको छ । उनी अग्र स्थानमा छन् ।


प्रतिक्रिया