काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन परिणामपछि पार्टीले गम्भीर आत्मसमीक्षा गर्दै नयाँ नीति र योजनासहित अघि बढ्नुपर्ने बताएका छन् ।
उनका अनुसार वर्तमान परिस्थितिको वस्तुनिष्ठ विश्लेषण र मूल्यांकन गर्दै संगठनलाई पुनर्गठन गर्ने आवश्यकता रहेको छ । यस क्रममा उपयुक्त रणनीति र कार्यनीति निर्धारण गर्दै एकता, ध्रुवीकरण, सहकार्य तथा संयुक्त मोर्चाको आधारमा समग्र रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने उनले उल्लेख गरेका छन् ।
श्रेष्ठले पार्टीलाई पुनः सुदृढ बनाउँदै देश र जनताको पक्षमा संघर्षको स्पष्ट कार्यक्रम तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । क्रान्तिनिष्ठा, धैर्य, विवेक र साहसका साथ दृढतापूर्वक अघि बढ्ने संकल्प गर्नुपर्ने उनले बताएका छन् ।
उनले पार्टीको राजनीतिक कार्यदिशा शान्तिपूर्ण परिवर्तनमा आधारित रहेको उल्लेख गर्दै निर्वाचन र सरकारमार्फत गरिने कामलाई महत्त्वपूर्ण मानिए पनि त्यसलाई मात्र सम्पूर्ण उपायका रूपमा नलिनुपर्ने बताएका छन् ।


प्रतिक्रिया