पृथ्वी बचाउने नासाको महाअभियान सफल

पृथ्वी बचाउने नासाको महाअभियान सफल



वासिङ्टन डिसी । भविष्यमा पृथ्वीमा ठोक्किन आउन सक्ने खतरनाक क्षुद्रग्रहहरूलाई रोक्न सकिन्छ कि सकिँदैन भन्ने परीक्षण गर्न नासाले सञ्चालन गरेको डार्ट मिसनले नयाँ इतिहास रचेको छ ।

अन्तरिक्ष वैज्ञानिकहरूका अनुसार सन् २०२२ मा भएको उक्त ठक्करले डिमोर्फोस र डिडिमोस नामक दुई क्षुद्रग्रहको सौर्य कक्षलाई स्थायी रूपमा परिवर्तन गरिदिएको छ ।

यी दुई क्षुद्रग्रहले एकअर्कालाई परिक्रमा गर्दै सूर्यको चक्कर लगाउने गर्छन् । नयाँ तथ्याङ्कले ठक्करपछि यिनीहरूले सूर्यलाई एक फन्को लगाउने समय ७७० दिनमा झन्डै एक सेकेन्डको कमी आएको देखाएको छ ।

अध्ययनका मुख्य लेखक डा. राहिल मकाडियाका अनुसार यो परिवर्तन सुन्दा निकै सानो लागे पनि अन्तरिक्षको विशाल दूरीमा यसले ठुलो अर्थ राख्छ । क्षुद्रग्रहको गतिमा प्रतिघण्टा १.७ इन्चको मात्रै फरक पर्दा पनि भविष्यमा कुनै विनाशकारी पिण्डलाई पृथ्वीसँग ठोक्किनबाट जोगाउन पर्याप्त हुने उनले बताएका छन् । यो परीक्षणले मानिसले चाहेमा प्रविधिको प्रयोग गरेर अन्तरिक्षका पिण्डहरूको दिशा बदल्न सक्छ भन्ने बलियो आधार खडा गरिदिएको छ ।

डिडिमोस र डिमोर्फोस दुवै धुलो र चट्टानका थुप्रा हुन् जुन गुरुत्वाकर्षणका कारण आपसमा बाँधिएका छन् । नासाको यान डिमोर्फोसमा ठोक्किँदा त्यहाँबाट करिब १ करोड ६० लाख किलोग्राम भन्दा बढी भग्नावशेष अन्तरिक्षमा छरिएको थियो । वैज्ञानिकहरूका अनुसार अन्तरिक्ष यानले दिएको धक्काभन्दा पनि त्यहाँबाट उछिट्टिएका ढुङ्गा र धुलोको बलले क्षुद्रग्रहको गति परिवर्तन गर्न मद्दत गरेको हो ।

यसअघिको अनुसन्धानले डिमोर्फोसले डिडिमोसलाई परिक्रमा गर्ने समय ३३ मिनेटले घटेको देखाएको थियो भने अहिलेको नयाँ अध्ययनले यसको सूर्यको कक्षमै प्रभाव पारेको पुष्टि गरेको छ ।

यो नतिजा निकाल्न विश्वभरका स्वयंसेवक खगोलविद्हरूले सन् २०२२ अक्टोबरदेखि २०२५ मार्चसम्म गरेको मेहनत प्रशंसनीय छ। उनीहरूले अन्तरिक्षका ताराहरूको अगाडिबाट क्षुद्रग्रह जाँदा हुने ब्लिङ्क वा प्रकाशको अवरोधलाई मिहिन ढङ्गले मापन गरेका थिए । यो प्रक्रियालाई स्टेलर अकल्टेसन भनिन्छ, जसका माध्यमबाट क्षुद्रग्रहको सही स्थान, गति र आकार पत्ता लगाउन सम्भव भएको हो ।

यूरोपेली अन्तरिक्ष एजेन्सीको हेरा मिसनले यसै वर्षको अन्त्यतिर उक्त ठक्करपछिको अवस्थाको थप तस्बिर र भिडियोहरू सार्वजनिक गर्ने तयारी गरेको छ । हेराले डिमोर्फोसको नजिकै पुगेर त्यहाँ भएको परिवर्तनको थप विस्तृत विवरण संकलन गर्नेछ ।

यसैबिच नासाले पृथ्वीको नजिक रहेका र हालसम्म नदेखिएका अँध्यारा र जोखिमपूर्ण क्षुद्रग्रहहरू पत्ता लगाउन अर्को नयाँ मिसनको पनि विकास गरिरहेको छ ।